सिरहा । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिँहले सिरहास्थित रहेको कमल दहको विकासको लागि प्रतिवद्ध रहेको बताए । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ स्थित रहेको पौराणिक एवं धार्मिक पर्यटकीय स्थल कमलदहमा दशकौंदेखि लाग्दै आएको मेलालाई विहिबार उदघाटन गर्न पुगेका मन्त्री सिँहले कमल दहलाई सौन्दर्यीकरण मार्फत विकासको पहल गर्ने प्रतिवद्धता जाहेर गरे । उनले मधेश सरकारसँग छलफल गरी विकासको योजना दिने बताए ।
हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्ने ऐतिहासिक कमलदह मेला विहिबारदेखि सुरु भएको हो । मेलामा कुस्ती, सांस्कृतिक, मनोरञ्जनात्मक लगायतका विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको छ । मेलाको उद्घाटन गर्दै मन्त्री सिंहले कमलदह जस्तो ऐतिहासिक ठाउँमा आउन पाउँदा आफू सौभाग्यशाली महसुस गरिरहेको बताए ।
कमलदहको विकासका लागि आफूले पहल गर्ने पनि उनले बताए । राज्य र सरोकारवालाको उपेक्षामा परेको कमलदहको विकास गर्न सकिए देशकै नमूना पर्यटकीय गन्तव्य बन्नसक्ने विश्वास उनले व्यक्त गरे ।