वीरगञ्ज । प्रहरीले हिरासतबाट भाग्न खोजिरहेकाहरूमाथि गोली चलाउँदा दुई जना डाँकाहरू घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डकैतीको आरोपमा पक्राउ परेकाहरू भाग्न खोज्दा गोली चलाइएको हो ।
गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका- २ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् । उनीहरूको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गम्भीर रूपमा घाइते बनेका उनीहरूको हाल प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीप कुमार गिरीले जानकारी दिए ।
डिएसपी गिरीका अनुसार गत कार्तिक २० गते बिहान करिब अढाई बजे भएको डकैतीको घटनामा संलग्नमा संलग्न रहेका पासवानद्वयलाई रौतहटको गरुडा नगरपालिका – ४ पानी ट्याङ्कीबाट मङ्गलवार नियन्त्रणमा लिइएको थियो । नियन्त्रण लिने क्रममा उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने ४ थान गोली समेत बरामद गरेको थियो ।
रौतहटबाट नियन्त्रणमा आएका उनीहरूलाई महोत्तरीतर्फ लग्ने क्रममा सर्लाहीको सङ्ग्रामपुरमा प्रहरीको गाडी बिग्रियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सवारी मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनाम गाउँपालिका – ५ सम्म राति १० बजे पुर्याएपछि पुनः महोत्तरीबाट आएको अर्को गाडीमा राख्न खोज्दा पासवानद्वय हाम फाली भाग्न खोजेका थिए । सोही क्रममा आफ्नो कमान्डमा खटिएको टोलीले चाइनिज पेस्तोलबाट गोली प्रहार गर्दा दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको डिएसपी गिरीले जानकारी दिए ।
गत कार्तिक २० गते बिहान करिब अढाई बजेको समयमा जलेश्वर नगरपालिका – ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा भएको डकैतीमा पासवानद्वय संलग्न रहेको डिएसपी गिरीले बताए ।
पासवानद्वयसँगै हात हटियासहित आएको ७/८ जनाको डाँकाहरूको समूहले चौधरीको घरको मुलढोका लगायतका ढोकाहरूको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमै सुतिरहेको अवस्थामा चौधरी, जय किशोर चौधरी, सीमा चौधरी र शैलदेवी चौधरी भान्सा कोठामा लगी बन्द गरिदिएका थिए । त्यसपछि डाँकाहरूले चौधरीको टाउकोमा प्रहार उनलाई घाइते बनाउनुका साथै शैल देवीमाथि काठाको चिरपटले प्रहार गरी दाहिने हातमा चोट पुर्याएका थिए । उनीहरूले ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद १ लाख ७५ हजार रकम लुटेको प्रहरीले जनाएको छ ।