वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १३ मुर्लीस्थित नयाँ टोलमा बुधवार दिउँसो छुरा प्रहारबाट एक जना घाइते भएका छन् । घरेलु हतियार (मासु काट्ने दाब) प्रहारबाट सोही ठाउँका २१ वर्षीय कलामुद्दिन हवारी घाइते भएका हुन् । घाइते कलामुद्दीनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, बायाँ कोखा, पिठ्यूँ र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
स्थानीय ३६ वर्षीय आलम अन्सारी, ४० वर्षीय समसुदिन अन्सारी र १८ वर्षीय जले आलमले कलामुद्दिनमाथि छुरा प्रहार गरी घाइते बनाएको उनका दाइ जैनुदिन हवारीले बताए । दाइ जैनुदीनका अनुसार जले आलम र १६ वर्षीय जावेद आलम समेतका बच्चाहरू आफ्नो घर अगाडि इदगाह नजिक बसी बुधवार नशालु पदार्थ सेवन गर्दै गरेको देखेर त्यसलाई रोक्न आग्रह गरेपछि उनीहरूले भाइ कलामुद्दीनलाई कुटपिट गर्नुका साथै छुरा प्रहार गरेको । जैनुदीनका अनुसार छुरा प्रहार गर्न उनीहरू घर मै आइपुगेका थिए । उनीहरूले आफ्नो बिरामी बुवामाथि समेत हातपात गरेको जैनुदीनको कथन छ ।
जैनुदीनले आफ्नो भाइ र बुवामाथि कुटपिट गर्नुका साथै छुरा प्रहार गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका छन् ।