जाजरकोटका भूकम्प पीडितहरुलाई बासको समस्या भएको छ । पर्याप्त त्रिपालसमेत नभएकाले उनीहरु साँघुरो ठाउँमा पालैपालो सुतेर रात कटाएका छन् ।
नलगाड नगरपालिका-७ बगरकी ३३ वर्षीया सरस्वती सुनुवारले बाटो किनारको एउटा घुम्ती पसल (ढ्याब्ली) भित्र तीन-चार जना पालैपालो सुतेर रात कटाएको बताइन् ।
भूकम्पले घर पूरै चर्किएको र ढुंगामाटो पनि खसेकाले घरभित्र गएर बस्नसक्ने अवस्था छैन । ‘राति भूकम्प गएको थाहै पाइएन । ढुंगा खसेर टाउकोमा लागिसकेछ । भाउजु मनमाया सुनुवार उठेर ‘धामी आयो-धामी आयो’ भन्दै कराउनुभयो । पछि पो भूकम्प आएको थाहा भयो,’ उनले भनिन् ।
त्यसपछि घर बाहिर निस्किएको उनको परिवारको बास सडकमै छ । सबैजसो भूकम्प पीडितहरुले आफैं ओतको व्यवस्था गरेर खुला स्थानमा रात कटाएका छन् । ठाउँ-ठाउँमा आफैंले प्लास्टिक, तन्ना, धोतीको ओत लाग्ने ठाउँ बनाएर मानिसहरु बसिरहेको देखिन्छ ।