दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक विद्यालय बन्द नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण बढेपछि राज्य सरकारले आजदेखि लागु हुने गरी दुई दिनका लागि सबै प्राथमिक विद्यालय बन्द गरेको छ । दिल्लीको वायुमण्डलमा विषालु धुँवा तथा बाक्लो तुँवालो
लागेको र मानिसलाई श्वास लिनसमेत समस्या भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो दुई सातादेखि दिल्लीमा हृवात्तै बढेको वायु प्रदुषणका कारण यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । आवश्यक कामबाहेक मानिसहरु घरबाहिर निस्किन छाडेका छन् । केन्द्र सरकारको प्रदूषण नियन्त्रण आयोगले अनावश्यक निर्माण र डिजलबाट सञ्चालित ट्रकहरुलाई राजधानी प्रवेशमा प्रतिबन्ध
लगाउन निर्देशन दिएको छ । दिल्लीसँगै जोडिएको गुरुग्राममा पनि फोहोर जलाउन प्रतिबन्ध लगाइएको छ । सहरको वायुको गुणस्तर यस सिजनमा बिहीबार सबैभन्दा तल्लो स्तरमा झरेको छ । स्वास्थ्यका लागि हानिकारक धुलोका कण ‘पीएम-२.५’ को मात्रा ६० माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ । यो सुरक्षित सीमाभन्दा सातदेखि आठ गुणासम्म बढी हो । एयर क्वालिटी इन्डेक्स पनि चार सयको सीमा नाघेर ४३५ सम्म पुगेको छ । आगामी दुई साता दिल्लीको वायु प्रदूषणको अवस्था थप जटिल हुने वैज्ञानिकहरुले बताएका छन् । बढ्दो
प्रदूषणका कारण बालबालिका र वृद्धवृद्धामा दम र फोक्सोसम्बन्धी समस्या बढेको चिकित्सकले बताएका छन् । प्रत्येक वर्ष जाडोयाममा दिल्लीको वातावरण विषाक्त हुने गर्छ । छिमेकी राज्यहरु हरियाणा र पन्जाबमा धान काटिसकेपछि खेतको परालमा लगाइने आगोको धुँवा र दीपावलीमा गरिने आतिशबाजीका कारण नोभेम्बर १ देखि १५ सम्म दिल्लीको प्रदूषण उच्च हुने गर्छ ।