वीरगंज । दसैँ पर्वको १५ दिनभित्र भएका एक हजार एक सय ३४ सवारी दुर्घटनामा एक सय जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या एक हजार ६ सय ९२ छ । प्रहरीले उपलब्ध गराएको यो तथ्यांक २८ असोजदेखि १२ कात्तिकसम्मको हो । यस वर्षको दसैँ २८ असोज (घटस्थापना) देखि सुरु भएर ११ कात्तिक (कोजाग्रत पूर्णिमा) सम्म चलेको थियो ।
तथ्यांकअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशका छन् । यस अवधिमा लुम्बिनीमा ७६ दुर्घटना भएका छन्, जसमा २६ यात्रुले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या एक सय नौ पुगेको छ । यस अवधिमा ट्राफिक प्रहरीले लुम्बिनीमा मात्रै सात हजार सात सय ४३ सवारीचालकलाई कारबाही गरेको छ ।
यस अवधिमा भएको दुर्घटनामा परी मृत्यु हुने दोस्रो स्थानमा मधेश प्रदेश छ । तथ्यांकअनुसार मधेश प्रदेशमा मात्रै १५ दिनभित्र तीन सय ६० दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या ६ सय ६ छ । यस अवधिमा मधेश प्रदेशमा ट्राफिक प्रहरीले ६ हजार ८९ सवारीसाधनलाई कारबाही गरेको थियो ।
दुर्घटनामा परी मृत्यु हुने तेस्रो स्थानमा कोशी प्रदेश छ । कोशीमा १५ दिनको अवधिमा एक सय ४७ दुर्घटना भएका छन्, जसमा १७ जनाले ज्यान गुमाएका छन् । दुई सय ८५ जना घाइते भएको प्रहरीले जनाएको छ । यस अवधिमा ट्राफिक प्रहरीले सात हजार ७३ सवारीसाधनलाई कारबाही गरेको छ । दसैँका वेला बागमती प्रदेशमा ६० दुर्घटना भएका छन्, जसमा ज्यान गुमाउनेको संख्या ११ जना र घाइते हुने एक सय ९२ पुगेका छन् । ट्राफिक प्रहरीले यस अवधिमा दुई हजार सात सय २५ सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । तथ्यांकअनुसार गण्डकी प्रदेशमा भएका २२ दुर्घटनामा परी आठजनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या ३० छ । ट्राफिक प्रहरीले सात हजार नौ सय ६२ सवारीसाधनलाई कारबाही गरेको छ ।
दसैँको समयमा सुदूरपश्चिम प्रदेशमा १९ दुर्घटना भएका छन् । दुर्घटनामा नौजनाको ज्यान गएको र २४ जना घाइते भएका छन् । यस अवधिमा दुई हजार तीन सय ८५ सवारीसाधन कारबाहीमा परेका छन् । कर्णाली प्रदेशमा यस अवधिमा ६१ दुर्घटना भएका छन्, जसमा दुईजनाले ज्यान गुमाएका र ८८ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । यस अवधिमा एक हजार पाँच सय ५८ सवारीसाधन कारबाहीमा परेका छन् ।