वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरी आँखा फुटाई दिएका ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक रविन्द्र साह तुराहालाई कारबाहीको माग गर्दै कांग्रेसले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेकाे हाे । घण्टाघर चाेकबाट नाराबाजी गर्दै जुलुश निकालेका कांग्रेसका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् । कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाँउदै प्रहरी नायब निरीक्षक तुराहालाई ७ दिनभित्र कारबाही नगरिए कांग्रेस चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।महर्जन कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
कुर्मीका अनुसार, कार्तिक ५ गते महाष्टमीका राति रेल्वेराेडस्थित हनुमान मन्दिरमा भईरहेकाे धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा प्रहरी नायब निरीक्षक तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुकासाथै रातभर प्रहरी थुनामा राखेका थिए ।प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेकाे थियाे ।कुटपिटबाट घाइते महर्जनकाे आँखामा गम्भीर चाेट लागेकाले अहिलेपनि उनकाे उपचार भइ नै रहेकाे कुर्मीले बताए ।धार्मिक कार्यक्रममा हस्तक्षेप गर्ने प्रहरी नायब निरीक्षक तुराहालाई त्यसाे नगर्न आग्रह गर्दा उनले पुरानाे रिसबी साँध्न वडाध्यक्ष महर्जनलाई अपनाम गर्नुकासाथै कुटपिट गरेर घाइते बनाएकाे र रातभर प्रहरी थुनामा समेत राखेकाले प्रनानि तुराहालाई ७ दिनभित्र कारबाही नगरिए जिल्लाभरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिने चेतावनी कार्यवाहक सभापति कुर्मीले दिए।
विराेध प्रदर्शन र जुलुशमा प्रदेशसभा सदस्य श्याम पटेल, कांग्रेस पर्साका उपसभापति अशाेक गुप्त,जिल्ला सचिवद्वय दिनेश चाैधरी र इम्तियाज आलम,जिल्ला प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति महम्मद साहबुदिन र अनिल सिंह, पुर्व जिल्ला उपसभापति दिना गुप्ता र राजु गुप्ता, नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी, नेविसंघ पर्साका सभापति रमेश यादव,पटेर्वा सुगाैली गाँउपालिकाकी उपाध्यक्ष ममता महताे थारु लगायतकाे सहभागीता थियाे ।