वीरगंज । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीनजना सख्त घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका १, बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा.३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बिहीबार साँझ चितवनको रत्ननगर नगरपालिका ७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तीनजना घाइते भएका छन् ।
बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा. प्र ०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका १२ का २० वर्षीय समित महतो, मोटरसाइकलपछाडि बसेका राप्ती नगरपालिका ६ का २१ वर्षीय विज्ञान चौधरी, सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए । सख्त घाइते तीनैजनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ ।