वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा मधेसी र थारु समुदायको महत्त्वपूर्ण पर्व जिउतियाको अवसरमा आयोजित मेलाको गाउँपालिका अध्यक्ष यसवन्त यादवले उद्घाटन गरेका छन् ।
सखुवाप्रसौनी – २ औराहा पचगावामा जिउतिया पर्वको उपलक्ष्यमा आयोजित मेलाको गाउँपालिका अध्यक्ष यादवले आइतबार एक कार्यक्रमकाबिच रिबन काटेर उद्घाटन गरेका हुन् ।
थारु समुदायको सबैभन्दा महत्त्वपूर्णमध्ये एक पर्वलाई धूमधामका साथ मनाउन मेलाको आयोजना गरिएको समितिका अध्यक्ष शम्भु यादवले बताए । उनले मेलामा विभिन्न परिकारका खाने कुरा, लत्ताकपडा, इलेक्ट्रिक, बच्चाहरूको लागि खेलाउनादेखि मनोरञ्जनात्मक गतिविधिका निमित्त विभिन्न किसिमको झुला लगायतको पनि व्यवस्था गरिएको जानकारी दिए ।
मेलामा शान्ति सुरक्षा र चोरी नियन्त्रण गर्नका निमित्त नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बाक्लो मात्रमा प्रहरीसमेत परिचालन गरिएको शम्भु यादवले बताए ।
उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट, दिपनरायण आदर्श माध्यमिक विद्यालय औराहा पचगावाका प्रधानाध्यापक शिवनाथ चौधरी, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, स्थानीय युवा, समाज सेवीलगायतको उपस्थिति रहेको थियो ।
मेलामा कुस्तीको पनि आयोजना गरिएको छ । आगामी वर्षहरूमा थप धूमधामका साथको मेला आयोजना गर्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष यसवन्त यादवले प्रतिबद्धता व्यक्त गरे ।