वीरगंज । चीनमा जारी १९औँ एसियाली खेलकुदमा बुधबारको दिन नेपाल र मंगोलियाका लागि ऐतिहासिक रह्यो । मंगलोलियाले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पणको गौरव हासिल गर्दा नेपालले दुर्लभ विश्वकीर्तिमानको झण्डा गाड्यो । सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप टी२० खेलेपछि टी२० आईको मान्यता पाएको थियो । अहिले नेपाल टी२० आईमा आईसीसी वरीयताको १७ औँ नम्बरमा छ । तर, आज नेपालले जुन प्रदर्शन गर्यो ती विश्व नम्बर एक टिमभन्दा निकै माथि रह्यो । नेपाली टिम र खेलाडीले आज जुन विश्वकीर्तिमान कायम गरेका छन् त्यो निकै दुर्लभ छ । आज नेपाली क्रिकेटरले जुन विश्वकीर्तिमान राखे त्यसमा धेरै जसो छिमेकी मुलुक भारतका खेलाडीले कायम गरेका कीर्तिमान तोडिए । आज तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपालका कुशल मल्लले प्रहार गरेको शतक विश्वकीर्तिमानी बन्न पुग्यो ।
उनले ३४ बलमै शतक बनाए । जुन भारतका अहिलेका कप्तान रोहित शर्माले बनाएको विश्वकीर्तिमान भंग गर्न पर्याप्त बन्यो । शर्माले ३५ बलमा श्रीलंकाविरुद्ध २०१७ मा शतक पूरा गरेका थिए । आज ६ वर्षपछि मल्लले शर्माको कीर्तिमान तोडे । त्यसो त साउथ अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकका एस विक्रामासेक्राले पनि ३५ बलमै शतक बनाएका थिए । यी सबै कीर्तिमान आज मल्लले तोडे । यस्तै पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरीले आज बनाएको अर्को विश्वकीर्तिमान लगभग अब तोडिन असम्भव जस्तै छ । उनले मात्र ९ बलमा अर्धशतक पूरा गरे । संयोगले यसअघि यो कीर्तिमान पनि भारतीय क्रिकेटरकै नाम रहेको थियो । सिक्सर किङका नामले चर्चित भारतीय क्रिकेटर युवराज सिंहले सन् २००७ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।१६ वर्षपछि ऐरीले आज उनको कीर्तिमान पनि चकनाचुर पारिदिएका छन् । क्रिकेटमा नौ बलभन्दा कम बलमा अर्धशतक बन्न अब असम्भव जस्तै छ ।
किनकी हरेक बलमा छक्का प्रहार गर्दा मात्र नौ बलमा अर्धशतक पूरा हुन्छ । त्यसैले नौ बलभन्दा कम बलमा अर्धशतक नै बन्दैन । ८ वटै बलमा लगातार छक्का प्रहार गरे पनि त्यतिबेला ४८ रन मात्र बन्न सक्छ । त्यसैले ऐरीको यो विश्वकीर्तिमान तोडिने देखिँदैन । बराबरी हुनसक्छ । उनले अर्धशतक बनाउँदा ५२० को स्ट्राइक रेटमा रन बनाएका थिए । यो पनि दुलर्भ विश्वकीर्तिमान हो । यो उच्च स्ट्राइक रेटमा अर्धशतक बनाएको विश्वकीर्तिमान हो । यी त भए खेलाडीले कायम गरेका विश्वकीर्तिमान । नेपाली टिमले पनि आज विश्वकीर्तिमान कायम गरेको छ । टी२० अन्तर्राष्ट्रियमा तीन सय रन कटाउने पहिलो टिम बन्दा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनायो । जुन हालसम्मकै टी२०आईको सर्वाधिक स्कोर हो । नेपालले आयरल्याण्डविरुद्ध अफगानिस्तानले बनाएको २७८ रनको विश्वकीर्तिमान भंग गरेको हो । यसपछि पनि नेपाली टिमका नाममा अर्को विश्वकीर्तिमान बन्यो ।
त्यो हो सबैभन्दा धेरै मार्जिनको जित । ३१४ रनको लक्ष्य पाएको मंगोलिया ४१ रनमा अलआउट हुँदा नेपालले २७३ रनको जित हात पार्यो । रनका हिसाबले टी२० आईको सबैभन्दा ठूलो जित हो । त्यति मात्र होइन नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाप्त क्रिकेटमा बनाएको यो उच्च स्कोर पनि हो । यसरी चीनमा नेपाली क्रिकेटले सनसनीपूर्ण प्रदर्शन गर्दा आज अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालको चर्चा चुलिएको छ । विशेष गरी भारतीय सञ्चार माध्यममा । भारतका हरेक जसो सञ्चार माध्यमले नेपाली टिम र खेलाडीको प्रशंसा गरेका छन् । इन्डिया टुडे ग्रुपका आजतक, नवभारत टाइम्स र टाइम्स अफ इन्डियाका अनलाइन संस्करणमा यो समाचार प्रमुखताका साथ प्रकाशित भएको छ । यस्तै दैनिक जागरण, दैनिक भास्करमा पनि यो समाचारले प्राथामिकता पाएको छ । यति मात्र हाेइन आईसीसीले पनि याे समाचारलाई प्राथामिकता दिएर प्रकाशित गरेकाे छ ।