वीरगंज । वीरगन्जको वीर्तास्थित बालसुधार गृहमा विद्यमान दूरावस्था सुधार गर्न मानवअधिकारकर्मीहरुले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सुधार गृहमा खाना, पानी , शौचालय , औषधी उपचार लगायतमा उचित व्यवस्थापन नहुदाँ त्यहाँ राखिएका बालक र किशोरहरुले विभिन्न सास्ती खेप्न बाध्य भइरहेको भन्दै मानव अधिकारीकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
स्वतन्त्र मानव अधिकार समाजको टोली बालसुधार गृहमा अनुगमन गर्न पुग्दा त्यहाँ रहेका बालक र किशोरहरुका लागि उपलब्ध सुत्ने कोठाको अभाव भएको , एउटै कोठामा १४ जना सम्मलाई कोचेर राखिएको , उपलब्ध खाना र खाजा गुणस्तरहिन भेटिएको , सुत्ने कोठामा पंखाको कमी भएको , औषधीउपचारमापनि लापरवाही गरिएको , पुस्तकालय र खेलकुदका सामग्री उपलब्ध नगराइएको लगायतका समस्या देखिएको समाजका केन्द्रिय अध्यक्ष कृष्णकुमार खनालले बताए ।
यीनै समस्या समाधानका लागि सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समाजको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शीवप्रसाद लम्साललाई लिखित रुपमा ध्यानाकर्षण गराएको खनालले बताए । यसका साथै सुधारगृहमा नियमित विद्युती आपुर्तिका लागि जेनेरेटरको व्यवस्था गर्न , खानेपानीको उचित प्रबन्ध मिलाउन , कोठाहरुमा पंखा थप्न , समयसमयमा स्थानीय प्रशासनको तर्फबाट अनुगमन गर्न र त्यहाँ सुरक्षारत ९ जना प्रहरीका लागि छुट्टै मेस सञ्चालन गर्नपनि आग्रह गरिएको समाजका महासचिव दिपक साहले जानकारी गराए ।
साहका अनुसार , सुधार गृहमा रहेका १३१ जना बालक र किशोरहरुलाई ८ वटा मात्र कोठामा राखिएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीमा समाजका अध्यक्ष खनाल र महासचिव साहसंगै उपाध्यक्ष नन्दकिशोर यादव ,केन्द्रिय सदस्यहरु सोनाल गुप्ता ,लालबाबु गुप्ता, निर्मला कुशवाहा,नन्दनि गुप्ता लगायतकोपनि सहभागीता थियाो । वीरगन्जको बाल सुधार गृहमै गत भदांै २६ गते त्यहाँ रहेका बालकहरुबिच विवाद भई झडप हुदाँ ११ जना बालक र तीन जना प्रहरी घाइते भएका थिए ।