वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य (सांसद) राजकुमार गुप्ताले सखुवाप्रसौनी स्थित पारसनाथ मन्दिरदेखि भाथा धाम मन्दिरसम्म सडक निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार नाग पञ्चमीको अवसरमा मुहवनको पारसनाथ मन्दिरमा आयोजित मेलामा वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोसँगै पुगेका सांसद गुप्ताले पर्सा जिल्लाका दुवै महत्वपूर्ण मन्दिरहरूलाई जोड्ने सडक निर्माणका निम्ति आफ्नो संसदीय विकास कोषबाट एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
धार्मिक हिसाबले हिन्दू र जैन धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिने दुवै मन्दिरलाई जोड्ने पूर्वाधार नहुँदा अपेक्षित संख्यामा श्रद्धालुहरू आउन नसकेको बताउँदै गुप्ताले सडक निर्माणका लागि संसदीय कोषबाट रकम उपलब्ध गराउने बताए । गुप्ताले भने ‘पर्सा जिल्लाको नाम यसै पारसनाथ बाबाको मन्दिरबाट भएको छ । त्यस्तै भाथाधाम मन्दिर हिन्दूहरूको एउटा महत्वपूर्ण तीर्थस्थल हो । तर सडक नहुँदा चाहेर पनि पर्यटकहरू यहाँ आउन सक्दैनन् । त्यसैले सडक विकास गर्दै अन्य पूर्वाधार निर्माणको समेत बाटो खोल्न मैले एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हुँ ।’
सांसद गुप्ताले श्रद्धालुहरूका लागि वर्षभरि नै भाथाधाम मन्दिर खोल्न पनि माग गरे । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने भाथाधाम मन्दिरमा उपयुक्त सुरक्षाको व्यवस्था गर्दै श्रद्धालुहरूले वर्षभरि नै पूजा गर्न मिल्ने गरी खोल्न उनले वन मन्त्री महतोसँग आग्रह गरे । त्यसै गरी उनले भाथाधाम जाँदा लाग्ने शुल्क पनि मिनाहा गर्न मन्त्री महत्तोसँग आग्रह गरे । पारसनाथ युवा समाजले आयोजना गरेको मेलाको उद्घाटन कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिकाका पुर्वअध्यक्ष प्रदीप् जयसवाल लगायतकोपनि उपस्थिती थियो ।