वीरगंज । युरोप भ्रमण छोट्याएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार स्वदेश फर्किन लागेका छन् । सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारले अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जानकारी दिए।
एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि भ्रमण छोट्याएर स्वदेश फर्कने निर्णयमा पुगेका हुन् ।
गत साउन २२ गते युरोप जानु एक दिन अघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गएपछि उनीबारे टिकाटिप्पणी समेत भएको थियो ।