वीरगंज । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि रामेछापको सबैभन्दा बढी विद्यार्थी अध्ययनरत मन्थली माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । आइतबार विद्यालय पुगेका छात्रछात्रालाई आधा दिनमै घर पठाएर विद्यालयले आउँदो आइतबार मात्र हाजिर हुन भनेको हो । प्रधानाध्यापक टंकप्रसाद दाहालका अनुसार विद्यालयमा अध्ययरत १ हजार ३ सयमध्ये ४ सयभन्दा बढी विद्यार्थी आँखा पाक्ने रोगबाट ग्रसित छन् ।
उनले ९ जना शिक्षकपनि आँखा संक्रमणबाट पीडित भएपछि पठनपाठनमा असर पुगेको बताए । त्यसैगरी मन्थलीमा रहेका ३ वटा निजी विद्यालयले पनि आँखाको संक्रमणका कारण ३ दिन पठनपाठन रोकेका छन् । सोमबारदेखि बुधबारसम्म विद्यालय बन्द गर्ने निजी विद्यालयहरूको संस्था प्याब्सनले निर्णय गरेको हो । तामाकोशी आवासीय बोर्डिङ स्कुलमा अध्ययनरत १ हजार १ सय विद्यार्थीमध्ये करिब २ सय ५० जनामा पनि संक्रमण देखिएको छ । केही दिनयता मन्थली र आसपासका क्षेत्रमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको हो ।
जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापका अनुसार आँखा पाक्ने रोग लिएर केन्द्रमा दैनिक सरदर १ सय जना बिरामी आउन थालेका छन् । यसअघि दैनिक २० जना हाराहारीमा मात्र आँखा संक्रमणका बिरामी आउने गरेका थिए । आँखा पाक्ने रोगले जिल्ला अस्पताल, तामाकोशी अस्पताल, रामेछाप सामुदायिक आँखा अस्पताल र मन्थली अस्पतालमा बिरामी आउने क्रम बढेको छ । जिल्लामा रहेका चस्मा पसलमा पनि भीडभाड देखिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश तामाङका अनुसार आँखामा देखिएको संक्रमण पूर्णरूपमा निको हुन साता दिन लाग्छ ।