वीरगंज । ओपनर यशस्वी जैसवाल र शुभमन गिलको कीर्तिमानी ब्याटिङमा भारतले चौथो टि–२० क्रिकेटमा घरेलु टोली वेस्टइन्डिजमाथि ९ विकेटको सानदार जित हात पारेको छ । योसँगै पाँच टि–२० खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ । शनिबारराति भएको खेलमा जितको लागि पाएको १ सय ७९ रनको भारतले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।
भारतको जितमा यशस्वी जैसवाल ५१ बलमा ११ चौका र ३ छक्कासहित ८४ रनमा नटआउट रहे ।अर्का ओपनर शुभमन गिल ४७ बलमा ३ चौका र ५ छक्कासहित ७७ रनमा आउट भए । तिलक बर्मा ५ बलमा १ चौकासहित ७ रनमा नट आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेकोे वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७८ रन बनाएको थियो ।
वेस्टइन्डिजका बायाँ हाते ब्याटर शिम्रन हेटमायरले ३९ बलमा ४ छक्का र ३ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिए ।शाई होपले २९ बलमा २ छक्का र ३ चौका सहित ४५ रनमा आउट भए । बलिङ तर्फ भारतका स्पिनर कुलदीप यादवले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चाहल, मुकेश कुमार र अक्षर पटेलले एक एक विकेट लिए । यी दुइ टिमबिचको पाँचौं तथा निर्णायक खेल आइतबार राती हुनेछ ।