वीरगंज । खाेलामा आएको बाढीमा बगेर धनुषामा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपता भएका छन् । मंगलबार दिउँसो खोला तर्न खोज्दा बाढीले बगाएर एक जनाको मृत्यु भएको र बाढीमा आएको दाउरा संकलन गर्न गएका एक दम्पती बेपता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बिक्रम साहले बताए ।
बसही खोलामा आएको बाढीमा बगेर मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको हाे । उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक साहले बताए ।
यसैगरि धनुषामै पर्ने कमलानदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट श्रीमान्/श्रीमती बेपता भएका छन् । गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी पत्नी ३० वर्षीया माया परियार बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।