वीरगंज । सन् १९४५ मा आजकै दिन (अगस्ट ६) मा अमेरिकाले जापानमा परमाणु बम आक्रमण गरेको थियो । दोस्रो विश्वयुद्धका बेला जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले अमेरिकाले परमाणु जापानी सहर हिरोसिमामा बम खसालेको थियो । विश्वयुद्धको सुरुमा अमेरिका सहभागी भएको थिएन । तर १९४१ को डिसेम्बर ७ मा जापानले पर्ल हार्बरमा गरेको बम आक्रमणमा २३ सयभन्दा धेरै अमेरिकी सैनिक मारिएपछि अमेरिका युद्धमा संलग्न भएको थियो ।
अमेरिकी राष्ट्रपति र्फ्र्यांकलीन डी रुजबेल्टले जापानमाथि बदला लिने त्यति बेला नै घोषणा गरेका थिए । अमेरिकाले जापानमाथि बम आक्रमण गर्नुअघि नै १९४५ अप्रिल ३० मा सोभियत संघको सेनाले जर्मनी कब्जा गरेको थियो । जर्मनीका तानाशाह हिटलरले आत्महत्या गरेपछि मे ८ मा जर्मनीले आत्मसमर्पण गरेको थियो । जर्मनीले आत्मसमर्पण गरेसँगै युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । तर, एसियामा जापानले भने लडाइँ जारी राखेको थियो ।
कमजोर भइसकेको जापान पराजित हुने अवस्थामा पुगिसकेको थियो । तर आत्मसमर्पण गर्न अस्वीकार गरेको जापानलाई बदला लिने नियतसहित अमेरिकाले हिरोसिमामा ‘लिटिल ब्वाई’ नामक परमाणु बम खसालेको हो । बम खसालेलगत्तै अमेरिकाले आत्मसमर्पणका लागि आह्वान गरेको थियो । तर जापानले नमानेपछि त्यसको तीन दिनपछि अर्थात् अगस्ट ९ मा अमेरिकाले अर्को जापानी सहर नागासाकीमा ‘फ्याट म्यान’ बम खसालेको हो । नागासाकी आक्रमणको ६ दिनपछि जापानले आत्मसमर्पण गरेको थियो । बम आक्रमणका कारण हिरोसिमामा एक लाख ४० हजार र नागासाकीमा ७० हजार मानिसको मृत्यु भएको थियो ।