वीरगंज । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकाे सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तयारीमा रहेको महिला क्रिकेट टाेलीकाे सल्लाहकार प्रशिक्षकमा देविकालाई नियुक्त गरेको हाे ।
भारत र बङ्लादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा आइतबार नियुक्त गरिएको क्यानले जनाएको छ । देविकाले गएकाे सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् । देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन् । उनी २०१८ मा बङ्लादेशको सहायक प्रशिक्षक बनेकी थिइन् ।
मलेसियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म आयोजना हुने आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जससमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (यूएई) र कतार रहेका छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।