वीरगंज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको दशकौं बितिसक्यो । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा राखेका छैनन् । रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने भएपछि यस क्षेत्रका खेलप्रेमी र खेलाडीले विकल्प खोज्न थालेका छन् । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । चार दशकअघि निर्माण भएको नारायणी रंगशालामा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए । तर विस्तारै रंगशालाको मर्मत सम्भारमा न कुनै सरकारले चासो दिए न त कुनै ठूला प्रतियोगिता नै भए ।
अहिले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशमा नयाँ रंगशाला तयार गरिँदै छ । तर तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयाेजना गरिएको वीरगन्जको नारायणी रंगशालाको अवस्था नाजुक बनेको छ । नारायणी रंगशालाको दर्शक बस्ने प्यारापिट भत्किएको छ । अन्य संरचना चोरी भएका छन् । बरु स्थानीय खेलाडी आफ्नै प्रयासमा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भइरहेका छन् । नारायणी रंगशाला भएको पर्सा मधेस प्रदेशकै धेरै पूर्वाधार भएको जिल्ला हो । खेलकुदका पूर्वाधार संरक्षण गर्न जनप्रतिनिधिहरुले पनि पटकपटक सरकारसँग हारगुहार गरेका छन् । तर सरकारले सुन्दै नसुनेको गुनासो जनप्रतिनिधिको छ ।
नारायणी रंगशालाको पुनर्निर्माण गर्न कुनै पनि सरकारले पहल नगरेपछि स्थानीय खेलप्रेमीकै पहलमा आदर्शनगर रंगशालाको स्तरोन्नति सुरु भएको छ । वीरगन्जलाई खेलकुदको शहरका रुपमा चिनाउन ठूलो धनराशीको गोल्डकप यही रंगशालामा गर्ने तयारीस्वरुप अहिले मैदान सम्याउने काम भइरहेको हो । तर आदर्शनगर रंगशालाको स्तरोन्नतिले मात्र वीरगन्जमा ठूला प्रतियोगिता सम्भव हुँदैन ।३५ हजार दर्शक क्षमताको नारायणी रंगशालाको पुनर्निर्माण गर्न सरकारले पर्याप्त बजेट दिएको छैन ।नारायणी रंगशाला पुननिर्माणका लागि २ अर्ब ६४ करोड खर्च हुने अनुमान छ । तर खेलकुद मन्त्रालयले भने चालु आर्थिक वर्षकाे बजेटबाट १ करोड रुपैयाँ मात्रै दिने आश्वासन दिएको छ । यो बजेटबाट पुरानै बक्यौता ८० लाख तिर्नुपर्ने बाध्यता छ ।