वीरगंज । बंगलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार ९ वर्षको जेल सजाय सुनाइएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई ९ वर्ष र उनकी श्रीमती जुबेदा रहमानलाई ३ वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचारविरोधी आयोगका वकिल खुसिद आलम खानले जानकारी दिए । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान र उनकी श्रीमती जुबेदा । ‘विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा ९ वर्षको जेल सजाय सुनाइएको छ भने पतिलाई दुरुत्साहन गरेको आरोपमा उनकी पत्नीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ,’ उनले भने । बीएनपीका वकिल मसुद अहमद तालुकदारले यो सजाय ‘शतप्रतिशत राजनीतिक प्रतिशोधबाट प्रेरित’ भएको बताउँदै रहमानलाई ‘डिसेम्बर–जनवरीको आमचुनावअघि राजनीतिबाट टाढा राख्न’ यो मुद्दा चलाइएको बताएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकार गठन गरी निर्वाचनको पर्यवेक्षण गर्न दिन माग गर्दै बीएनपी र यसका सहयोगीहरूले गत वर्षदेखि शृंखलाबद्ध प्रदर्शन गर्दै आएका छन् । वरिष्ठ प्रहरी अधिकारी रशानुल हक सैकतका अनुसार रहमान दम्पतीलाई सजाय सुनाएपछि ढाकास्थित पार्टी मुख्यालयबाहिर करिब एक हजार बीएनपी समर्थकले र्याली निकालेका छन् । पश्चिमा सरकारहरूले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । यहाँ सत्तारूढ दलले विधायिकामा प्रभुत्व जमाएको र यसलाई रबर स्ट्याम्पका रूपमा ‘भर्चुअल’ सञ्चालन गरिरहेको आरोप उनीहरूले लगाउँदैआएका छन् ।
सन् २००८ देखि लन्डनमा बस्दै आएका तारिक रहमानलाई सन् २००४ मा तत्कालीन विपक्षी नेतृ हसिनाको समर्थनमा आयोजित राजनीतिक र्यालीमा २० जनाभन्दा बढीको ज्यान जाने गरी भएको ग्रिनेड आक्रमणमा संलग्न भएको आरोपमा सन् २०१८ मा आजीवन काराबासको सजाय सुनाइएको थियो । रहमानकी आमा खालिदा जिया त्यतिबेला प्रधानमन्त्री थिइन् । दुई पटकसम्म प्रधानमन्त्री बनेकी जियालाई सन् २०१८ मा भ्रष्टाचारको दुई छुट्टाछुट्टै मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो । उनको अनुपस्थितिमा तारिक रहमानले बेलायतबाट पार्टीको नेतृत्व गर्दै आएका छन् । राजनीतिमा संलग्न नरहेकी जुबैदा चिकित्सक हुन् ।