वीरगंज । भारतको चामल निर्यात बन्देजको बहानामा यहाँको बजार मूल्य बढेपछि सांसदले सरकारी अनुगमनमा प्रश्न उठाएका छन् । चामलमा कालोबजारी सुरु भएको बताउँदै उनीहरूले अनुगमनलाई तीव्र बनाउनुपर्ने बताएका हुन् । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद रमा कोइराला पौड्यालले बजारमा कालोबजारी सुरु भइरहँदा सरकारले अनुगमनमा ध्यान नदिएको बताइन् । ‘चामलमा अस्वाभाविक मूल्य बढाइएको छ । भाउ प्रतिबोरा २/३ सय रुपैयाँ बढ्दा सरकारले अनुगमनमा ध्यान दिएन । बजार अनुगमन भए पनि फितलो छ,’ उनले भनिन् ।
सांसद असिम शाहले बजार अनुगमन मौसमी हुने गरेको बताए । निरन्तर र दैनिक अनुगमन भए व्यापारीहरू स्वतः सुधार हुने उनको भनाइ छ । भने, ‘दैनिक बजार अनुगमन भए बजारमा सहज र स्वच्छ हुन्थ्यो ।’
अर्का सांसद महेन्द्रबहादुर शाहीले पनि बजारमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु छ्यापछ्याप्ती भेटिएको बताए । ‘सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यी वस्तुमा अनुगमन नै हुन सकेन ।’ सांसद गणेश पराजुलीले खाद्य वस्तुमा प्रभावकारी नियमन नभएको जिकिर गर्दै भने, ‘धेरैजसो खाद्यान्न आयात नै गर्नुपर्छ । बजारमा खाद्य वस्तु आउँदा गुणस्तर कायम गर्न सकिँदैन ?’