रौतहट । कुमार चन्दन । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर – ४ पतौरामा एक महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । दाइजोको निहुमा गएराति रौतहटमा आमा र छोरीको हत्या भएको छ । २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानिय धिरेन्द्र साहको २४ वर्षिया श्रीमती कविता देवीको शव घर भित्र लडेको अवस्थामा र उनकी २ वर्षिया छोरी आरुही साहको शव कोठामा पंखामा झुण्डीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह उनका बुवा नागेन्द्र साह फरार भएका छन । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक वीरबहादुर बुढामगरले भने- “मृतकका श्रीमान अहिले सम्म फेला परेका छैनन, उनको खोजतलाश गर्दैछौं ।” मृतकका जेठानी र सासुलाई सोधपुछका लागी ल्याएका छौं । घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए ।
#दाइजोका लागी हत्या भएको माइती पक्षको आरोप
तिन वर्ष अघि वैवाहिक बन्धनमा बाधिएकी कवितालाई उनका श्रीमानले पटक पटक दाइजोका लागी यातना दिने गरेको कविताका बुवा विजय शंकर साहले बताए । माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजय शंकर साहले दाइजोका विषयमा छोरी ज्वाई बिच पटक पटक विवाद हुने गरेको बताए । “बिहे पछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन । ज्वाई धिरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपीट गरेको थियो ।” विजय शंकर साहले भने “आखिरमा दाइजोकै लागी छोरी र नातिनीको हत्या गरेर ज्वाई फरार भए ।” घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनु पर्ने उनको माग रहेको छ ।