वीरगंज । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९, चौधकिलो पुलमा दुर्घटना भएको हो ।
नारायणगढबाट–मुग्लिङतर्फ जाँदै गरेको रा १८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो ।
घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । चालक र अर्का एक जनाको अवस्था गम्भीर छ । अरू यात्रीको अवस्था खतरामुक्त रहेको डिएसपी पण्डितले बताए । दुर्घटनाका कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ ।