वीरगंज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले वीरगन्जसहित मधेस प्रदेशलाई सुख्खा र संकटगग्रस्त क्षेत्र घोषणा गरेर सरकारबाट विशेष प्याकेज उपलब्ध गराउन कांग्रेस शीर्ष नेतृत्वसंग माग गरेका छन् । काठमाडौंमा जारी कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा शनिबार बोल्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) समेत रहेका चौरसियाले यस्तो माग गरेका हुन् । सांसद चौरसियाले पर्साको वीरगन्जसहित मधेस प्रदेशका आठ वटै जिल्लामा अहिले खडेरीका कारण चापाकलहरु सुकेर खानेपानीको समेत हाहाकार भएको तथा सिंचाई गर्न नपाएर खेतीपनि प्रभावित भइरहेको बताए ।
त्यसका कारण मधेस प्रदेशलाई सुख्खा र संकटग्रस्त क्षेत्र घोषणा गराएर पानीको समस्या तत्काल समाधान गराउनका लागि काँग्रेस पार्टीले पहल लिनुपर्नेमा उनले जोड दिए । सांसद विकास कोषबाट एक करोड भन्दा कमको योजनामा खर्च गर्न नपाउने संवैधानिक बाध्यता रहेको भन्दै चौरसियाले भने,‘ मेरो आफनै गृह नगर वीरगन्जमा ९० प्रतिशत चापाकल सुकेका छन् । त्यहाँका जनता खानेपानी समेत नपाएर छट्पटिइ रहेका छन् तर सांसद विकास कोषको संवैधानिक बाध्यताका कारण मैले त्यहाँ केहि गर्न सकिरहेको छैन ,यसले मलाई ठूलो पीडा भइरहेको छ ।
त्यसकारण काँग्रेस पार्टीले अहिले जारी केन्द्रिय समितिको बैठकबाटै निर्णय गरेर पर्सासहित मधेस प्रदेशलाई सुख्खा र संकटग्रस्त क्षेत्र घोषण गराएर सरकारबाट समस्याको समाधान गराउनु पर्नेमा उनले जोड दिए । सांसद चौरसियाले स्वास्थ्य , शिक्षा , कृषि र रोजगारको विषय कांग्रेस केन्द्रिय समितिको बैठकको एजेण्डामा समावेश गर्न माग गरे । स्वास्थ्य , शिक्षा , कृषि र रोजगारको अवस्था राम्रो नभएसम्म देशले उन्नत्ति प्रगती गर्न नसक्नेपनि उनले बताए ।