वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका करिब आधा दर्जन सामुदायिक विद्यालयहरुमा विधार्थी र कक्षा संख्याको अनुपातमा शिक्षकहरु नहुदाँ बालबाालिकाहरुको पठनपाठनमा असर परेको अभिभावकहरुले गुनासो गरेका छन् । गाउँपालिका कार्यालयले गत आर्थिक वर्षमा २९ जना स्वंयसेवक शिक्षकहरुलाई बर्खास्त गरेपछि विशेषगरि प्राथमिक तहका विद्यालयहरुमा शिक्षकहरुको अभाव हुन गई विद्यार्थीहरुको पठनपाठनमै असर परेको हो । वडा नम्बर ३ मा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुर्व देकुली, नेपाल राष्ट्रिय आधारभूत विद्यालय कञ्चनपुर बैरिया, नेपाल राष्ट्रिय आधारभूत विद्यालय महेन्द्रपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय भतौडा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेलवा,मदर्सा लगएतका विद्यालयहरुमा शिक्षकहरुको अभावव रहेको अभिभावकहरुले बताएका छन् ।
रामपुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय महेन्द्रपुरमा कक्षा १ देखि ५ सम्म गरि २६० विद्यार्थीहरु अध्ययनरत रहेका छन् । तर उक्त विद्यालयमा एक जना मात्र शिक्षक र एक जना बालविकास सहजकर्ता कार्यरत छन् । करारमा रहेकी शिक्षक सोनामति देवी आफैले प्रधानाध्यापकको समेत जिम्मेवारी वहन गर्दै एक्लै पाँच वटा कक्षमा पढाउदै आएकी छन् । शिशु आर्थात वाल विकास कक्षाको लागी एक जना बाल विकास सहजकर्ता रहेको भएपनि उनले आफनो जिमेवारी पुरा गर्ने गरेको बताउँदै प्रधानाध्यापक सोनामति देवीले एक्लैले ५ वटा कक्षा अध्यापन गराउदा समस्या भएको बताइन् । यसबारे आँफुले गाउँपालिका कार्यालयमा पटक पटक जानकारी गराएको उनले बताइन् ।
उक्त विद्यालयमा दिवा खाजा र विद्यालयको मेस सञ्चालनका लागि एउटा मात्र कोठा भएको भन्दै प्रधानाध्यापक सोनामति देवीले शौचालय नहुदाँ बालबालिकाहरु खुल्ला स्थानमा शौच गर्न जान बाध्य रहेको बताइन् । शिक्षक अभावले पाठ्यक्रम अनुसार पठपाठन नभएको र पहिलो त्रैमासिक परिक्षा आइसक्दा विद्यार्थीहरु अन्यौलमा परेको अभिभावकहरुले बताएका छन् ।गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले भने पालिकाभरिका सामुदायिक विद्यालयहरुमा देखिएकाो समस्याबारे आफु जानकार रहेको भन्दै छिट्टै ती समस्या समाधान गरिने बताए ।