वीरगंज । आज साउन महिनाको पहिलो सोमबार। साउने सक्रान्तिको दिन सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका छन्। अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ। सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ। अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ। तर साउने सोमबारको ब्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजनको भीड लागेको छ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ। साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ। भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको छ। विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ। सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ। साउन १, ८, १५, २२ र २९ गते सोमबार परेको छ।