वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने तयारी गरिएको हो ।
मङ्गलवार वीरगन्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा वीरगन्जका मेयर राजेशमान सिंहले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । वीरगन्जसहित मधेस प्रदेशको मिर्गौला बिग्रिएको र डायलिसिसमा रहेको बिरामीलाई प्रत्यारोपण गराउन हर सम्भव सहयोग गर्ने मेयर सिंहले बताए । नारायणी अस्पतालमा इन्फेक्सन नहुने गरी अपरेसन थिएटर बन्न सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सक सहितको समूहले मिर्गौलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले बताए ।
नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिना भित्रमा नै मिर्गौला प्रत्यारोपण हुन सक्ने निर्देशक डा. श्रेष्ठले बताए । नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले मिर्गौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाडै मिर्गौला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरूले तयारी गरेको बताए । वरिष्ठ उद्योगपति तथा समाजसेवी अशोक वैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मिर्गौला प्रत्यारोपणको लागि पनि सहयोग गर्ने बताए । छलफलमा स्वास्थ्य विटका पत्रकार अतुल मिश्र, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, हेल्थ टूडेका सम्पादक पदम राज जोशी, मेयरका प्रेस सल्लाहकार महेश दास, मिर्गौला प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीहरूकोपनि सहभागीता थियो ।