वीरगंज । रुसी सरकारी मिडियाका अनुसार वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन बेलारुस जानेछन्। बेलारुस रूसको सहयोगी देश हो। रिपोर्टहरूका अनुसार, रक्तपात रोक्नको लागि येभगेनी प्रिगोजिन र उनका लडाकुहरू विरुद्धको आरोपहरू हटाइनेछ।
शनिबार वाग्नर समूहले रुसको रोस्तोभ सहर नियन्त्रणमा लिएको दाबी गर्दै मस्कोतर्फ अघि बढेको बताएको थियो। तर राती प्रिगोजिनले आफ्नो मार्च रोकेको र लडाकुहरू आफ्नो आधारमा फर्किरहेका बताएका थिए। रोस्तोभ सहरबाट फर्किने क्रममा खिचिएका तस्बिरमा स्थानीय मानिसहरूले लडाकुलाई अँगालो हालेर बिदाइ गरेको देखिन्छ ।
२४ न्यूज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुरा गरेपछि प्रिगोजिनले आफ्ना लडाकुहरूलाई राजधानीतर्फ जानबाट रोकेका थिए।त्यसपछि प्रिगोजिन आफ्ना लडाकुहरूको मार्च रोक्न र अवस्था बिग्रनबाट रोक्न सहमत भएका हुन्।लुकासेन्कोको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै रोसिया २४ न्युज च्यानलले लुकासेन्कोको मस्कोसम्मको मार्चलाई बीच बाटोमा रोक्ने प्रस्तावलाई प्रिगोजिनले स्वीकार गरेको बताएको छ ।
समूहको सुरक्षाको प्रत्याभुतिमा सहमति जनाएपछि मात्र उनीहरु पछि हटेको जनाइएको छ। समाचार च्यानलका अनुसार पुटिनले पनि यो सम्झौतामा सहमति जनाएका छन् । अघिल्लो दिन मस्कोमा मोर्चाबाट मार्च गर्नु अघि, प्रिगोजिनले आफ्नो उद्देश्य सैन्य विद्रोह नभएको न्यायको लागि मार्च गरिएको बताएका थिए।