वीरगंज । बीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरुले उठाउदै आएको मागका सम्बन्धमा स्थानिय प्रहरी प्रशासन र राजस्व अनुसन्धान विच ४ बुंदे सहमति भएपछि अनिश्चितकालका लागि बन्द भएको बीरगंजका ट्रान्सपोर्टहरु आजदेखि सुचारु हुने भएका छन । जिल्ला प्रशासन कार्यालयमा बिहीवार साँझ भएको वार्तामा राजस्व अनुसन्धान कार्यालय पर्सा प्रहरी, ढुवानी व्यवसायी विच समग्र रुपमा ढुवानी व्यवसायलाई गलत नियतले हेर्न नहुने र गलत गर्नेलाई निगरानीमा राखि कारवाही गर्ने विषयमा त्रिपक्षिय सहमति भएपछि बीरगंजमा ४ दिन देखि अनिश्चितकालका लागि बन्द भएको ढुवानी सेवा आजदेखि सुचारु हुने सहमति भएको ट्रान्सपोर्ट एशोसिएसन पर्साका सचिव नवराज अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समय ढुवानी सेवामा प्रहरी प्रशासन र राजश्व अनुसन्धान विभागले राजस्व छलिको अभियोगमा अनाहकमा दुःख दिन थालेको भन्दै सोको विरोधमा वीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरुले आफ्नो कारोबार अनिश्चितकालको लागि बन्द गरी धर्नामा उत्रिएका हुन ।व्यवसायीहरुले मंगलबार आफ्नो कार्यालयको ताला चाबी समेत जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बझाइएका थिए । वीरगञ्जका ७० जना ट्रान्सपोर्ट व्यवसायीहरुको तालाचाबी प्रमुख जिल्ला अधिकारलिाई बुझाईएको ट्रान्सर्पोटको ताला चाबी बिहीवार सहमति भएसँगै प्रमुख जिल्ला अधिकारीसँग फिर्ता लिएका छन।
वार्ता सौहार्द पूर्ण रुपमा सम्पन्न भएको र ढुवानी सेवा आजदेखि सुचारु हुने पर्सा प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो । मुलुकमै ‘ट्रान्सपोर्ट हब’को रुपमा रहेको आर्थिक तथा व्यापारिक वीरगन्जमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आवद्ध रहेका छन् । वीरगन्जका दुईवटा भन्सार र औद्योगिक क्षेत्र बाहेक ट्रान्सपोर्ट एशोसिएशनमा आवद्ध व्यवसायीहरुले दैनिक सयौँ ट्रक सामान मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् ।