वीरगंज । सर्वोच्च अदालतले बलात्कारको एक मुद्दामा उच्च अदालत पाटनको थुनछेक आदेश उल्ट्याउँदै अभियुक्तलाई थुनामा पठाउने आदेश दिएको छ । पशुपति मैनाली प्रतिवादी रहेको जबर्जस्ती करणीको थुनछेक आदेशमा सर्वोच्चको संयुक्त इजलासले थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । उच्च अदालत पाटनले ६ माघ ०७८ मा बलात्कारको यस मुद्दामा प्रतिवादी मैनालीलाई धरौटीमा रिहा गरेपछि सरकारी पक्ष सर्वोच्च पुगेको थियो । उच्चको आदेशबाट रिहा भएपछि मैनालीले पीडित महिलालाई ज्यान मार्ने धम्की दिने गरेका थिए । सर्वोच्चले उच्चको आदेशलाई ‘त्रुटिपूर्ण, अनुचित र बेरितको’ भन्दै बदर गरिदिएको छ । ‘घटना विवरण हेर्दा प्रतिवादी पशुपति मैनालीले पीडितको अश्लील (आपत्तिजनक) फोटो खिचेको र सार्वजनिक गरिदिने भनी त्रास, दबाब र अनुचित प्रभावमा पारी शारीरिक सम्बन्ध राखेको भन्ने तत्काल प्राप्त प्रमाणबाट देखिन आएको छ । प्रतिवादी र पीडितबीच आदान–प्रदान भएका एसएमएस सन्देशबाट समेत फोटो डिलिट गर्ने सन्दर्भ उल्लेख भएको पाइयो,’ न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले २६ जेठमा दिएको आदेशमा छ, ‘बुझिएका मानिसहरूको भनाइ तथा परिस्थितिबाट जबर्जस्ती करणी भएको तथ्य खुल्न आएको देखिन्छ । तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी पशुपति मैनालीले आरोपित कसुर गरेको विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार विद्यमान रहेको देखिन आयो ।’नुवाकोट घर भएकी २६ वर्षीया युवतीलाई ३१ वर्षीय मैनालीले घरमा कोही नभएका वेला बलात्कार गरेको र त्यसको भिडियो बनाई चार वर्षदेखि यौनशोषण गरिरहेका थिए । भिडियो डिलिट गरिदिने भन्दै अन्तिमपटक भेट्न बोलाएका मैनालीले उक्त भेटमा समेत इच्छाविपरीत करणी गरेको पीडितको भनाइ छ । पटक–पटक भेट्न अस्वीकार गरेपछि माइती र घरका साथै आफन्त, शिक्षक, गाउँलेसमेतलाई पनि ती फोटो भिडियो पठाइदिएको युवतीको भनाइ छ । जसपछि उनी प्रहरीमा पुगेकी थिइन् । अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा १० मंसिर ०७८ मा मैनालीलाई प्रतिवादी कायम गरी जबर्जस्ती करणी कसुरमा मुद्दा चलाइएको थियो । मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासले पुर्पक्षका लागि सोही वर्ष १२ मंसिरमा मैनालीलाई जेल चलान गरेको थियो । तर, जिल्लाको यस आदेशविरुद्ध मैनाली उच्च अदालत पाटन पुगेका थिए । जहाँ संयुक्त इजलासले ६ माघ ०७८ मा एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । जसमा सुनुवाइपछि सोही वर्ष ७ माघबाट मैनाली थुनामुक्त भए ।
उच्च अदालत पाटनका न्यायाधीशहरू भोजराज अधिकारी र जगदीश घिमिरेको इजलासले उक्त आदेश दिएको थियो । प्रतिवादीउपर परेको जाहेरी र प्रतिवादीले मौकामा बयान गर्दा करणी गरेको स्वीकार गरेको अवस्थासमेत विचार गरी मैनालीलाई एक लाख धरौटीमा छाड्ने आदेश भएको थियो । उच्चले मौकामा बयान गर्दा करणी गरेको भनी स्वीकार गरेका मैनालीलाई धरौटीमा छाडेको थियो । जाहेरवालीलाई चार वर्षदेखि जबर्जस्ती करणी गरे पनि १५ कात्तिक ०७८ मा बल्ल जाहेरी परेकाले पनि मैनालीलाई थुनामा राखिरहनु नपर्ने आदेश दिइएको थियो । मैनालीले जाहेरी दर्तादेखि नै युवतीमाथि विभिन्न दबाब दिइरहेका थिए । प्रहरीमा उजुरी दिँदैका बखत स्थानीय दुईजना जनप्रतिनिधिले समेत जहेरी फिर्ता लिन युवतीलाई धम्की दिँदै आएका थिए । उनीहरूले आर्थिक लेनदेनमा मुद्दा मिलाउन आग्रह गर्दै आएका थिए । सरकारी वकिलले प्रहरीको अनुसन्धानपश्चात् मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(३)(ङ) बमोजिम सजाय मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ । जसअनुसार पीडकलाई सातदेखि १० वर्षसम्म कैद हुन सक्ने प्रावधान छ । पीडित युवती पीडक मैनालीले धम्की दिने गरेको बताउँछिन् । ‘आज नभए पनि बढीमा आठ वर्ष जेल बस्ने हो म । त्यसपछि निस्केर तँलाई बाँच्न दिन्नँ भन्थ्यो । घरपरिवारबाट पनि सहयोग छैन । केही दिन संस्थामा बसेँ । अब अहिले लुकेर बाँच्नुपरेको छ,’ नयाँ पत्रिकासँग उनले भनिन् । माइतीतर्फका मान्छेलाई समेत मैनालीले धम्की दिने गरेको उनी बताउँछिन् । उनी डरले न गाउँ जान सकेकी छिन् न नातेदारकोमा नै बस्न सकेकी छिन् । प्रहरीमा उजुरी दिनुअगाडि केही समय सुदूरपश्चिममा गएर बसे पनि आफूलाई भेट्न पीडक पुगेको उनी बताउँछिन् ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको आदेशमा भनिएको छ–
घटना विवरण हेर्दा प्रतिवादी पशुपति मैनालीले पीडितको अश्लील (आपत्तिजनक) फोटो खिचेको र सार्वजनिक गरिदिने भनी त्रास, दबाब र अनुचित प्रभावमा पारी शारीरिक सम्बन्ध राखेको भन्ने तत्काल प्राप्त प्रमाणबाट देखिन आएको छ । प्रतिवादी र पीडितबीच आदान–प्रदान भएका एसएमएस सन्देशबाट समेत फोटो डिलिट गर्ने सन्दर्भ उल्लेख भएको पाइयो । बुझिएका मानिसहरूको भनाइ तथा परिस्थितिबाट जबर्जस्ती करणी भएको तथ्य खुल्न आएको देखिन्छ । तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी पशुपति मैनालीले आरोपित कसुर गरेको विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार विद्यमान रहेको देखिन आयो ।
के भएको थियो ?
जाहेरवालीको विवाह नौ वर्षअघि नुवाकोटकै एक युवकसँग भएको थियो । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेकै बखत तादी गाउँपालिकाकै एक कर्मचारी र युवतीका नातेदार मैनालीले एक रात आफूमाथि जबर्जस्ती करणी गरेको र आफूलाई थाहा नदिई त्यसको भिडियो खिचेको जाहेरी दरखास्तमा उल्लेख छ । त्यसपछि मैनालीले उक्त भिडियो श्रीमान्लाई पठाइदिने धम्की दिँदै पटक–पटक भेट्न बोलाउने, शारीरिक सम्बन्ध राख्ने, नग्न फोटो तथा भिडियो पठाउन दबाब दिने, भिडियो कलमा पनि उस्तै किसिमका दबाब दिने गरेका थिए । मैनालीले ती भिडियो कलका स्क्रिनसटसमेत लिएका थिए । यसरी चार वर्षसम्म यौनशोषणमा परेको उनले प्रहरीसामु बताएकी छिन् । उनको यो व्यवहारबाट दिक्क भएपछि आफूले गाउँ छाडेको, तर त्यहाँ पनि मैनालीले दुःख दिन थालेको युवतीको भनाइ छ । ‘निजबाट छुटकारा पाउन भनी म गाउँ नै छाडी काठमाडौंमा आई बसोवास गर्न लागेँ । निजले मलाई विभिन्न फोन नम्बरहरूबाट फोन गर्ने तथा म्यासेज गर्ने गर्दै आएका थिए,’ उनको जाहेरीमा छ । पटक–पटक आफूले ती सामग्री डिलेट गर्न भन्दा नमान्ने गरेको युवतीको भनाइ छ । पछिल्लोपटक १५ कात्तिक ०७८ मा भेटेर ती सबै डिलेट गर्ने भनेपछि आफू भेट्न पुगेको, तर त्यहाँ फेरि जबर्जस्ती करणी गरेको, डिलेट नगरेको र आफन्त तथा नातेदारलाई फोटो पठाइदिएको युवतीको आरोप छ । ‘निजले मेरो अश्लील फोटोहरू खिची अन्य मानिसलाई पठाइदिएको प्रमाण मसँग छ,’ युवतीले जाहेरीमा भनेकी छिन् ।