वीरगंज । ५५ लाख रुपैयाँ बराबरको सुनसहित वीरगञ्जका एक युवक हेटौडामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी २२ वर्षीय किसन साह रहेका छन् । प्रहरीले उनको साथबाट करिव ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा यात्रुवाहक बस जाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित साहलाई नियन्त्रणमा लिएको थियो ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीकाअनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताभित्र उक्त परिमाणमा सुन लुकाएका थिए । प्रहरीले बुधबार बिहान करिब ३ बजे साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।