वीरगंज । नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेकाअनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा अहिले भारतको आकाशमै रहेकाले नेपालमा आइपुग्न चारदेखि पाँच दिन लाग्ने भएको हो ।मौसमविद् लामिछानेले भने, ‘‘बङ्गालको खाडीबाट आएको जलवाष्ययुक्त हावा नेपाल आउन अझै चारदेखि पाँच दिन लाग्ने देखिएको छ । हामी यसको नियमित मनिटरिङ गरिरहेका छौँ ।’’
अहिले देशको पूर्वी भागमा मनसुन सुरु हुने अनुकूल वातावरण निर्माण भएकाले तापक्रम पनि घट्दै जाने उनको भनाइ छ । तराईका अधिकांश स्थान र पहाडी क्षेत्रको तापक्रम हिजो अस्तिको तुलनामा कम हुँदै गएको बताउँदै लामिछानेले भने, ‘‘अब मनसुन सुरु हुने समय नजिकिएकाले पूर्वी क्षेत्रमा मनसुन अनुकूल वातावरण निर्माण भइरहेको छ । जसका कारण देशका पूर्वी तराईका क्षेत्रमा र पहाडी क्षेत्रमा तापक्रम घट्दै गएको छ ।’’
हिजो ४०/४२ डिग्री सेल्सियस तापक्रम भएका ठाउँमा आज ३७/३८ डिग्री सेल्सियस रहेको छ । मनसुन सुरु नहुँदासम्म मौसम आंशिक बदली भइरहने भएकाले तापक्रम नबढ्ने उनि बताउँछन् । आज कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना पनि रहेको उनले बताए । मधेशमा वर्षाका लागि भने अझै केहि दिन कुर्नुपर्ने उनको भनाइ छ ।