काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बालेन निजी कामको सिलसिलामा भारतमा रहेका बेला बालेनले कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साबारे उनका सचिवालयका सदस्यहरुले जानकारी दिएका हुन् । नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो । ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको हो ।
काठमाडौँका मेयर बालेन शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन् । उनको सचिवालयका सदस्यकाअनुसार बालेन भारत भ्रमणबाट फर्केपछि उक्त नक्सा सार्वजनिक गर्ने योजनामा थिए । भारतले नवनिर्मित संसद् भवनमा नेपालका भूभागसमेत समेटिएको अखण्ड भारतको ‘भित्तेचित्र’ राखेपछि नेपालमा त्यसको चर्को विरोध भए पनि भारतको चारदिने भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नेतृत्वसँग औपचारिक कुराकानीका क्रममा यसबारे एक शब्दै बोलेनन् ।
परराष्ट्रमन्त्री एनपी साउदले त भारतको संसदमा राखिएको अखण्ड भारतको भित्तेचित्रबारे आफूलाई जानकारी नै नभएको बताएका थिए । भारतले उक्त भित्तेचित्रमा नेपालका भूभाग समेटेपछि संसद्, सडक र सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ । प्रधानमन्त्री दाहालसहित नेतृत्वले भने यसलाई ‘अनदेखा’ गरिरहेको छ । प्रधानमन्त्री दाहालले ‘भारतीय पक्षले अनौपचारिक कुराकानीका क्रममा ‘सांस्कृतिक नक्सा’ हो भनेपछि आफूले कुरा अगाडि बढाइरहनु नपर्ने ठानेको बताएका थिए ।