वीरगंज । रामनिवास पटेल । वीरगंजमा अझै केही दिन गर्मी यथावत रहने सम्भावना देखिएको छ । जसले गर्दा तराईमा तातो हावा चल्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे २४ घण्टे चेतावनी गर्दै जारी गर्दै भनेको छ– ‘देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भूभागमा तातो हावा/लु (Heat Wave) चलिरहेको अवस्था छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (घाम लाग्ने) रहनेछ। गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।