वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार गर्ने काममा सरकार लाग्नु नहुने बताएका छन् । मंगलबार जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रिजालले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । ‘सरकारले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो । के गर्नुपर्छ बाटो बनाइदिने हो । अहिलेको गठबन्धन सरकारले तपाईँहरूका समस्या समाधान गर्नेछ ।
प्रधानमन्त्रीले संसद्मा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ । त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन् । सरकार कटिबद्ध छ । राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार ५ वर्ष नै चल्छ मलाई लाग्छ’, उनले भने ।