काठमाडौँ | निजी कामको सिलसिलामा मुम्बई पुगेको भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुम्बईका नेपालीहरुसँग अन्तर्क्रिया गर्दै २०८४ को आमनिर्वाचनमा भोट हाल्न नेपाल जान सुटकेस र पोको अहिलेदेखि नै ठीक पार्न आग्रह गरेका छन्।
उनले २०८४ सालको चुनावसम्म विदेशबाट मत खसाल्ने व्यवस्था गर्ने तर त्यो व्यवस्था नभए पनि चार वर्षपछिको चुनावमा मत खसाल्न नेपाल जान एउटा सुटकेस र पोको अहिलेदेखि नै प्याक गर्न नेपालीहरुसँग आग्रह गरेका छन्।
उनले नेपालीहरुसँग शनिबार साँझ मुम्बईमा भने- हामी समृद्धशाली देशका रुपमा चिनिएका नेपाली ढाँट्न जान्दैनौँ, चोर्न जान्दैनौँ, छल्न जान्दैनौँ, त्यसैले मेहनत गर्छौँ। त्यो मेहनत नेपालमै गर्न पाए हुन्थ्यो।’ उनले सर्वोच्च अदालतले विदेशबाट भोट हाल्ने व्यवस्था मिलाउन आदेश दिइसकेको उल्लेख गर्दै अब त्यो व्यवस्था गर्नैपर्ने बताए।