बारा। बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ ।
हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो ।
पर्सा बहादुरमाई गाँउपालिका – २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिए । पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी पाण्डेले बताए ।