वीरगंज | राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भर बिग्रिएर डाटा हराएपछि लोकसेवा आयोगले पुनः दरखास्त माग गरेको छ । आयोगको अनलाइन प्रणाली अवरुद्ध भएपछि यसअघि विज्ञापन गरिएका पदका लागि पुनः दरखास्त आह्वान गरिएको हो । गत फागुन २३ गते (गभरमेण्ट इन्टिग्रेडेड डाटा सेन्टर) प्रणालीमा समस्या देखिएपछि आयोगको सम्पूर्ण डाटा गायब भएको थियो । जसका कारण गत मंसिरदेखि प्रकाशित सबै विज्ञापनमा पेश भएको दरखास्तको विवरण भेट्न मुश्किल परेको आयोगले जनाएको छ ।
आयोगले आज सूचना जारी गर्दै न्याय, प्रशासन, संघीय संसद्, परराष्ट्र, लेखापरीक्षण, मानव अधिकारलगायतका सेवाका लागि पुनः आवेदन दिन भनेको छ । भनिएको छ,‘२०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित देहायबमोजिमका विज्ञापनहरुमा दरखास्त दिई परीक्षा दस्तुर बुझाई दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी सबै उम्मेदवारहरुबाट मात्र पुनः दरखास्त आह्वान गरिएको छ ।’
पूर्व उम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्वसम्बन्धी विवरण नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट अनलाइन दरखास्त प्रणालीमा अद्यावधिक गरिसकेको उल्लेख गर्दै आयोगले पुनः दरखास्तका लागि दस्तुर बुझाउन नपर्ने स्पष्ट पारेको छ । उम्मेदवारले आउँदो जेठ १८ गतेभित्र पुनः दरखास्त दिइसक्नुपर्नेछ । त्यस्तै, आयोगले डाटा रिकभरीको प्रयास जारी रहेको जानकारी दिएको छ ।