वीरगन्ज | वीरगन्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । चालु आर्थिक वर्षमा महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या ५० प्रतिशतले बढेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार , गत आर्थिक वर्ष २०७५/०७६ मा महानगरपालिकामा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएको थियो । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि बैशाख १५ सम्म अर्थात साढे ९ महिनामै त्यो संख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको पौडेलले जानकारी दिए ।
महानगरपालिका कार्यालयको तथ्यांक अनुसार पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको संख्या २ हजार २ सय ६ थपिएको छ । व्यवसाय दर्तालाई प्रभावकारी बनाउन अहिले महानगरपालिकाले छुट्टै टोली नै परिचालन गरेको पौडेलले बताए । उक्त टोलीले उद्योग तथा पसलमा स्थलगत रुपमै पुगेर व्यवसाय नविकरण तथा नयाँ दर्ता गर्ने गरेको पौडेलले बताए ।व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत भएको र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय संचालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको उनले बताए ।
महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या बढेसँगै राजश्व संलकनमा समेत बृद्धि भएको छ ।व्यवसाय दर्ताबाट गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ राजश्व संकलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिए ।