बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह बीच उछिनापाछिन् भएको छ ।
सुरुवाति मतगणनामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार भएका जसपाका यादवले लिड गरेका थिए । तर, उनको अग्रता धेरै समयसम्म कायम रहन सकेन । उनलाई जनमतका कुशवाहले पछि पारे ।
फेरि जनमतका कुशवाहलाई पछि पार्दै जसपाका अध्यक्ष समेत रहेका यादवले अग्रता लिएका छन् ।
सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो ।
महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको उक्त निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
मत गणना जारी छ ।