वीरगंज | कांग्रेस त्यागेर अर्थशास्त्री स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि दबावमा परेको कांग्रेसले तनहुँ–१ मा आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेका छन् । सभापति शेरबहादुर देउवा आफैं प्रधानमन्त्रीलाई लिएर गए भने उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश आफै चुनावी मैदानमा खटिए । पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न केन्द्रीय सदस्यको भीड नै लाग्यो । पार्टी छोडेर रास्वपातिर लागेका स्वर्णिमलाई हराएर कांग्रेस कमजोर नबनेको पुष्टि गर्न नेताहरु लागेको बुझ्न सकिन्छ ।
हुनपनि पार्टी परित्याग गर्दा स्वर्णिमले सभापति देउवा र उनकी पत्नी आरजु राणालाई आरोप मात्र लगाएनन्, कांग्रेसमा सुधारको कुरा गरिरहेकाहरुमाथि पनि प्रश्न उठाएका थिए । त्यसैले स्वर्णिमले उपनिर्वाचन जितेमा कांग्रेस नेता–कार्यकर्ताको आकर्षण रास्वपातिर बढ्न सक्ने बुझाइ कांग्रेस नेतृत्वमा देखिन्छ । त्यही खतरा टार्न पनि कांग्रेसले यो निर्वाचन क्षेत्रलाई विशेष महत्व दियो ।
रास्वपा सभापति रवि लामिछाने र उम्मेदवार वाग्लेले पनि यो निर्वाचन क्षेत्रलाई महत्वका साथ प्रचार गरे । स्वर्णिमको पृष्ठभूमि र योग्यताको प्रचार गर्नेदेखि पार्टी नेता तथा समर्थकहरु मैदानमै खटिएर रास्वपा जित निकाल्न केन्द्रित भएका थिए । अर्थात् रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त यो निर्वाचन क्षेत्रको उपनिर्वाचन सिट संख्याको गणितमा मात्रै सीमित रहेन ।
जसपा नेता रामसहायप्रसाद यादव गत ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचन भएको बारा–२ को नतिजालाई पनि उत्तिकै महत्वका साथ हेरिएको छ । अर्थात् यो क्षेत्र पनि कुनै दलको एक सिट बढ्ने वा घट्ने उपनिर्वाचनमा मात्रै सीमित रहेन । विशेषगरी राजनीतिक प्रतिष्ठा जोगाउन जसपा अध्यक्ष उपेन्द्र यादव जित्नैपर्ने दबावमा छन् । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थनका कारण सहज अंकगणितमा रहेका यादवलाई प्रतिस्पर्धा भने सजिलो बनेन ।
उपेन्द्रसँग प्रतिस्पर्धामा जनमत पार्टीका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल लगायत छन् । त्यसमा पनि भर्खरै माओवादी छोडेर जनमतबाट उम्मेदवार बनेका कुशवाहले यादवलाई बलियो चुनौती दिएका छन् । मधेश प्रदेशसभामा समानुपातिक तर्फ मधेश केन्द्रीत दलहरुमध्ये सवैभन्दा ठूलो शक्ति बनेको जनमतका अध्यक्ष सिके राउत आफैं मैदानमा उत्रिदा उपेन्द्र चर्को दबावमा देखिए । मंसिरको निर्वाचनमा सप्तरी–२ बाट आफूसँगै पराजित उपेन्द्रलाई जसरी पनि रोक्नेगरी सिके राउत खटिएका छन् । मतदान अघिका गतिविधि र अभिव्यक्ति हेर्दा उपेन्द्रलाई यो उपनिर्वाचन उनको राजनीतिक जीवनकै सकसपूर्ण चुनाव बनेको प्रष्ट देखिन्थ्यो ।
किनकि यो उपनिर्वाचनमा उपेन्द्र पराजित भए मधेशको राजनीतिमा सिके राउत थप बलियो हुने सन्देश जाने उनी स्वयमले बुझेका छन् । त्यसैले मात्र शक्ति लगाएका मात्र छैनन्, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरु यो क्षेत्रमा पुर्याए ।
एमालेले पनि आफ्नो शक्ति प्रदर्शन गर्यो । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवहरु योगेश भट्टराई र रघुबीर महासेठले क्षेत्रमा पुगेर मत मागे । गत चुनावमा मधेश प्रदेशको सबभन्दा ठूलो शक्ति बनेको एमालेले यो क्षेत्र जितेर थप बलियो बनेको सन्देश दिन चाहन्छ ।
पूर्व डीआईजी खरेलले रास्वपाको घण्टी अनि प्रभु साह नेतृत्वको आम आमदी पार्टी पनि यो क्षेत्रबाट जितेर आफ्नो आकार बढाउनेगरी परिचालित भए ।
चितवन–२ को उपनिर्वाचन भने रास्वपा र त्यस पार्टीका सभापति रवि लामिछानेका निम्ति प्रतिष्ठाको प्रतिस्पर्धा हो । गत चुनावमा ५० हजार नजिकको मत पाएका रविले निकटतम प्रतिद्वन्द्वीसँग ३४ हजार बढीको मतान्तर कायम गरेका थिए । तर आफ्नै कारण (अमेरिकी नागरिकता त्यागेपछि नेपालको पुनः नलिएकाले) सांसद पद खारेज भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री पद समेत गुमाए । अब उपचुनावमा रविलाई पुरानो मत जोगाउनु चुनौती छ ।
जितका लागि रविले ठूलै शक्ति परिचालन गरे, पार्टीका सबै सांसदलाई चुनाव क्षेत्रमा लगे । दुई ठूला दल कांग्रेसले एमालेले पनि अघिल्लो चुनावमा रवितर गएका मतदाता फर्काउन सक्दो प्रयास गरेका छन् । किनकी उनीहरु रास्वपाले पाएको मत बहकावमा पाएको हो भन्ने स्थापित गर्न चाहन्छन् । रवि भर्सेस कांग्रेस–एमालेको प्रतिस्पर्धा देखाउने दृष्य मतदानका क्रममा पनि देखियो । नयाँकिरण कमल–कुसुम माध्यमिक विद्यालय केन्द्र आइतबार तनावपूर्ण बनेको थियो ।
आफू मतदान केन्द्रमा पुग्दा योजनाबद्ध तरिकाले निर्वाचन प्रक्रिया रोक्न अन्य दल लागि परेको रविले आरोप लगाए । तर चार घण्टा रोकिएर पुनःमतदान भएको यो केन्द्रको तनावप्रति रविले आचार संहिता उल्लंघन गरेको स्वीकार्दै माफी मागे ।
त्यसैले पार्टी गठनको सात महिनाभित्रै गत मंसिरको चुनावमा २० सिटसहित चौथो ठूलो राजनीतिक शक्ति बनाएका रास्वपाप्रति आमआकर्षण जोगाउन पनि रास्वपाले यो उपनिर्वाचन जित्नैपर्नेछ । अझ रविका निम्ति त राजनीतिक ‘लाइफ लाइन’ कै रुपमा समेत अथ्र्याउन सकिन्छ । त्यसैकारण भएको उपनिर्वाचन रवि र रास्वपाका निम्ति ठूलो प्रतिष्ठाको प्रतिस्पर्धा बनेको छ ।