वीरगंज । पर्साकाे धोबिनी गाउँपालिकाकाे कार्यालयमा गाँउपालिकाका उपाध्यक्ष सहितका जनप्रतिनिधिहरुले नै तालबन्दी गरेका छन् ।गाँउपालिका अध्यक्ष मदन चाैहान र प्रमुख प्रसाशकिय अधिकृत नवाज हुसेनकाे कार्यशैलीकाे विराेध जनाउँदै उपाध्यक्ष , वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार गाँउपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । पालिका अध्यक्ष चाैहान र प्रमुख प्रशासकीय अधिकृत हुसेनले व्यापक भ्रस्टाचार गरेको र एक महिनादेखि गाउँपालिका नआएर वीरगन्जमा कार्यालय सञ्चालन गरेर बसेकाे भन्दै उनिहरुले तालाबन्दी गरेका हुन् ।
गाउँपालिका अध्यक्ष चौहानले राजनीतिक पुर्वाग्रह राखेर एकलौटी ढंगले गाउँपालिकामा करारमा कार्यरत १५ जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगी कर्मचारीहरुलाई हटाएर एक महिनादेखि कार्यालयमै नआएको तालाबन्दी गर्ने जनप्रतिनिधिहरुकाे आराेप छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुसेन पनि एक महिनादेखि कार्यालय नआएकाे र वीरगन्जमा बसेर कार्यालयकाे काम गरिरहेकाले गाउँपालिकामा आउने सेवाग्रहीहरु मर्कामा परेकाे उनिहरुले आरोप लगाएका छन् । गाउँपालिका अध्यक्ष चौहान, प्रमुख प्रशासकीय अधिकृत हुसेन र लेखापाल धन्नजय दासले वीरगन्जमा बसेर छुट्टै कार्यालय सञ्चालन गरी व्यापक भ्रस्टाचार गरिरहेका कारण बाध्य भएर आफूहरुले गाउँपालिकामा तालाबन्दी गर्नुपरेको वडा नम्बर ४ का वडाध्यक्ष अबास मियाँले बताए ।
गाउँपालिका उपाध्यक्ष मञ्जुदेवी पटेलको नेतृत्वमा १० जना कार्यपालिका सदस्यहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेकाे उनले बताए । यदि गाउँपालिका अध्यक्ष चौहान प्रमुख प्रशासकिय अधिकृत हुसेन र लेखापाल दासले गाउँपालिका नआए अझ सशक्त अन्दोलनमा उत्रिने कार्यपालिका सदस्य दिनेश कलवारले बताए । गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न उपाध्यक्ष मञ्जुदेवी पटेल, वडा नंबर १ का वडाध्यक्ष बन्धु साह, ३ का वडाध्यक्ष किशोर पटेल, ४ का वडाध्यक्ष अबास मियाँ, कार्यपालिका सदस्य दिनेश कलवार, नन्दकिशोर प्रसाद, रिनादेवी, शोभावती देवी प्रमजोती कुमारी, सारदादेवी, मदन सहनी लगायत पुगेका थिए ।