वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो ।
यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सुचनामा बारा क्षेत्र नम्बर २ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ वैशाख राति १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि बन्द गर्ने भनिएको छ ।
एम्बुलेन्स, दुध तथा औषधी बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सावारी सञ्चालमा रोक लगाइएको छ । उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष , पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति शुरक्षालाई दुष्टिगत गरि स्थानिय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो ।