बारा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले सङ्घीयता कार्यन्वयन, संविधान संसोधन र मधेश जनताको अधिकारका लागि उपेन्द्र यादवको जित आवश्यक रहेको बताएका छन् । बारामा बिहिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका सोनलले सङ्घीयतालाई कार्यन्वयन गराउँदै मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न र बाँकी रहेका अधिकार प्राप्तिका लागि संविधान संसोधन गराउन बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको जित आवश्यक रहेको बताएका हुन् ।
सत्य र न्यायको पक्षमा सधै लड्ने उपेन्द्र यादव नजिते नजिते मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरु धूमिल हुँदै जाने बताउँदै सोनलले भने, ‘उपेन्द्रजी मधेश आन्दोलनका नायक हुनुहुन्छ । मधेश र मधेशीसँग जुडेका विषयका बारेमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । उहाँ जस्तो व्यक्तिलाई सदनबाट टाढा राख्नु भनेको आन्दोलनबाट प्राप्त उपलब्धिहरु धूमिल बनाउनु हो । उहाँ सदनमा नरहे मधेश मुद्दा कमजोर हुन्छ । त्यसैले पनि उनलाई जिताउन आवश्यक छ ।’
उनले उपेन्द्र यादव राष्ट्रिय स्तरको नेता भएको कारण उनि जितेर गए क्षेत्रमा विकासको मूल फुट्ने दावी गरे । ‘उपेन्द्रजी राष्ट्रिय स्तरको नेता हुनुहुन्छ । उहाँ जस्तो व्यक्ति हाम्रो क्षेत्रबाट आएर लड्नु सौभायको विषय हो । उहाँ जितेर गए यहाँ पूर्वाधार विकास हुनुका साथै शिक्षा, स्वास्थ्यमा समेत सुधार आउँछ । सडक, नाला बन्छ । मन्दिर, मस्जिद सबैको निर्माण हुन्छ,’ उनले भने ।
चुनावीसभामा देखिएको उपस्थितिबाट उत्साहित हुँदै उनले उपेन्द्र यादवको जित सुनिश्चित भएको दावीसमेत गरे । ‘आज पूरा बारा जिल्ला पाँच दलीय गठबन्धनमय भएको छ । जहाँ हेर्नुस् पाँच दलीय गठबन्धन मात्र देख्नुहुन्छ । आजको उपस्थितिले उपेन्द्रजी सानदार मतले जित्दै हुनुहुन्छ भन्ने कुरालाई सङ्केत गर्दैछ ।’ एक फरक प्रसङ्गमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद्को बैठकबाट जग्गाको कित्ताकाट खोल्ने निर्णयले आम जनताको मानोविज्ञानलाई सम्मान गरेको बताउँदै उनलाई धन्यवाद दिए ।