वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले २० वर्षमा नभएको काम तिन वर्षमा गरेर देखाएको दावी गरेका छन् । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुनलागेको उपनिर्वाचनमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन बाराको पचरौतामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो नेतृत्वको सरकारले २० वर्षमा हुननसकेको काम जम्मा तिन वर्षमा गरेर देखाएको दावी गरेका हुन् ।
उनले भने, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् ।’ उनले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने वृद्धभत्ता रोक्ने निश्चत रहेको बताउँदै भने, ‘हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’
ओलीले गठबन्धनको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप समेत लगाए । उनले वर्तमान सरकारले देश र जनतामा ध्यान नपुर्याएर आफ्ना कार्यकर्ता र आसेपासेलाई पोस्न विकासको योजनामा कटौतीमा बढी ध्यान केन्द्रित गरेको बताए । उनले गठबन्धन सरकार नपछारेसम्म देशको विकास नहुने दाबी समेत गरे । उनले गढीमाईमा गठबन्धनका नेताहरू आएर एमालेलाई गाली गर्न मात्रै भएको पनि बताए । उनले बारा २ एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन आग्रह गरे ।