वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ विमानस्थल शिलान्यास गर्ने समय आएको बताएका छन् । बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा बिहिबार पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका माधव नेपालले निजगढ विमानस्थल निर्माण काम चाँडै सञ्चालन गर्न प्रधानमन्त्री आग्रह गरे ।
उनले भने, ‘म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीलाई पनि पटकपटक भने की अब निजगढ विमानस्थललाई शिलान्यास गर्ने समय आएको छ । अब प्रचण्डजी हुनुहुन्छ उहाँलाई पनि म आग्रह गर्छु । सबै प्रकिया पूरा भएको छ अब छिटोभन्दा छिटो विमानस्थल निर्माणको शिलान्यास गर्नुपर्छ भन्ने मेरो विश्वास छ ।’ महागढीमाई धार्मिक मात्र नभएर ऐतिहासिक र पर्यटकीय क्षेत्र भएको बताउँदै यसको विकासका लागि वृहत योजना बनाएर अगाडि बढ्ने बारा-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवले सारेका योजनाहरु सराहनीय भएको उनले बताए ।
नेपालले बारा जिल्लाका महिला, बालबालिका, युवा, कृषक, मजदुरदेखि व्यापारी र बुद्धिजीविसम्मको समस्या समाधान गर्नेका लागि सबैभन्दा योग्य उम्मेदवार उपेन्द्र यादव भएको बताउँदै भने, ‘हामीले जातपात र समुदायभन्दा पनि उम्मेदवार योग्यता, क्षमता र काबिलियतको अधारमा मतदान गर्नुपर्छ र हरेक दृष्टिकोणले उपेन्द्रजी एक सक्षम र सबल उम्मेदवार हुनुहुन्छ । उहाँ जिते हरेक तप्का, समुदाय र समूहको समस्या समाधान हुन्छ ।’ उपेन्द्र यादव जिते क्षेत्र मात्र नभएर सम्पूर्ण बारा जिल्ला मधेश प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।