बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव जिते गठबन्धन बलियो बन्ने बताएका छन् । बारामा बिहिबार आयोजित चुनावसभालाई सङ्क्षिप्त रुपमा सम्बोदन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेश राम्रो काम गरेका कारण उनलाई जिताउँदै गठबन्धनलाई बलियो बनाउन आग्रह गरे ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा उपेन्द्र यादव योग्य भएको बताउँदै उनले भने, ‘उहाँ अत्यन्तै योग्य मान्छे हुनुहुन्छ । क्याबिनेटमा हामीले सँगै काम गरेका छौँ । उहाँले मधेश र मधेशको अधिकारका लागि क्याबिनेटमा मसँग कयौं पटक झगडा गर्नुभयो । मधेशका लागि लड्नुभयो ।’
देउवाले यादवलाई मधेशका लागि सच्चा रुपले सम्पर्पित व्यक्ति भएको बताए । ‘उहाँले मधेशका लागि सच्चा मानेमा प्रतिबद्ध, योग्य र सम्पर्पित उम्मेदवारका रुपमा बारा-२ का बासिले उहाँलाई पाउनु भएको छ । मलाई लाग्छ उहाँलाई जिताउन अत्यावश्यक छ,’ देउवाले भने । उनले महागढीमाईलाई ऐतिहासिक ठाउँ भएको बताउँदै यसको विकास र समृद्धिको लागि पनि काम गर्नुपर्ने बताए ।