वीरगन्ज । पर्साका किसानहरुले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सन्चालनका लागि उद्योग,वाणिज्त तथा आपुर्तिमन्त्री रमेश रिजालासंग माग गरेका छन् । मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका उद्योगमन्त्री रिजाललाई वीरगन्जमै भेटेर जिल्लाका अगुवा किसानहरुले वीरगन्ज चिनी कारखाना सन्चालनको माग गर्दै ज्ञापनपत्रपनि बुझाएका छन् । कृषक हकहित संघर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्धी र उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहको नेतृत्वमा वीरगन्ज आएका किसानहरुले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
तीन जिल्लाका किसानको उखु खरिद गर्दै आएको र हजारौंलाई रोजगारी दिदै आएको चिनी कारखाना २० वर्षदेखि बन्द रहदा किसानहरु मारमा परेको र जिल्लामा बेरोजगारीपनि बढेकोले उक्त कारखाना सन्चालन गर्न अगुवा किसानहरुले मन्त्री रिजालसंग आग्रह गरेका छन् । बन्द चिनी कारखाना सन्चालनमा आए जिल्लाका किसानहरुको खुशीको दिन फेरि फर्किने र हजारौं बेरोजगारले रोजगारी पनि पाउने भएकाले यसका लागि गम्भिरताकासाथ पहल गरिदिन उनिहरुले मन्त्री रिजाललाई आग्रह गरे ।
२० वर्षदेखि बन्द रहदाँ कारखानाका भौतिक संरचनाहरु जीर्ण हुदै गएको र त्यहा रहेका उपकरण लगायतका अन्य सम्पतिहरु चोरीपनि भइरहेकाले त्यसको संरक्षणका लागि पनि उनिहरुले मन्त्री रिजाललाई आग्रह गरे । पर्सा जिल्लाले पहिलोपटक उद्योगमन्त्री पाउँदा जिल्लाका किसानहरु निक्कै उत्साहित भएको भन्दै किसान हकहित संघर्ष समितिका अध्यक्ष गद्धीले भने,‘ अरुसमय अरु जिल्लाका उद्योगमन्त्री बन्थे , उनिहरुले खासै चासो देखाएनन् , अब त आफनै जिल्लाका सांसद रिजाल उद्योगमन्त्री बन्नु भएको छ , यसले चिनी कारखाना अब चल्छ भन्ने आश किसानहरुमा पलाएको छ । ज्ञापनपत्र बुझदै उद्योगमन्त्री रिजालले चिनी कारखाना सन्चालनका लागि आफनो तर्फबाट सक्दो पहल हुने प्रतिक्रिया दिए । उनले भने,‘ चुनौती त छ तर म पनि चाहन्छु मेरो आफनै जिल्लाको कारखाना जसरी पनि चलाउनुपर्छ , यसका लागि विज्ञहरुसंग छलफल गरेर आवश्यक प्रकृया अगाडि बढाउछु ।