वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंहले महिलाहरुको आय आर्जन बढाउनका लागि वीरगन्जमा महिला उद्यमी केन्द्र स्थापना गर्ने बताएका छन् । मंगलबार मातातीर्थ औसी पर्बको उपलक्ष्यमा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले आयोजा गरेको आमाको मुख हेर्ने कार्यक्रममा बोल्दै मेयर सिंहले महानगर आफैले छिटटै महिला उद्यमी केन्द्र स्थापना गरि सन्चालनमा ल्याउने बताए ।
उनले उक्त केन्द्रबाट महानगरका महिलाले विभिन्न सिपमुलक तालिम लिएर आफै उद्यम गरि आत्मनिर्भर बन्ने विश्वास आफुले लिएको बताए । महानगरमा रहेका आमाहरुलाई सम्मान र सहयोग गर्न बीरगन्ज महानगरपालिका सदैव तत्पर रहेको बताउदै मेयर सिंहले आफ्नो घर आँगन, टोल र नगरको सरसफाइमा लाग्न सबैमा आग्रह पनि गरे । वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा मेयर सिंहले ज्येष्ठ महिलालाई सम्मान पनि गरेका थिए ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल , मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डे , प्रहरी निरीक्षक विदुर शिवाकोटी , मानवअधिकारकर्मी कृष्ण खनाल ,आमा समुहकी अध्यक्ष जुली श्रेष्ठ लगायतको पनि सहभागीता थियो ।