बारा । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पक्षमा संयुक्त प्रचारप्रसार गर्ने मंगलवार प्रदेश अध्यक्षहरुले निर्णय गरेका छन् । क्षेत्रमा बसेको बैठकमा उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादव, लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादव, जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो । वैशाख १० गते हुने उपचुनावको प्रचारप्रसार उत्कर्षमा पुगेको छ ।
सो क्षेत्रमा जसपाबाट यादव, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा लगायतका उम्मेदवार छन् । चुनावी समीकरणका आधारमा जसपाका उम्मेदवारको पक्ष अत्यधिक बलियो देखिएको छ । तर एमालेका पौडेल र जनमतका कुशवाहा पनि कमजोर छैन् । १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको सो क्षेत्रमा १५ वटा वडामा जनता समाजबादी पार्टी, १३ वडामा नेपाली कांग्रेस, १० वटा वडामा नेकपा एमाले, २ वटामा नेकपा एकीकृत समाजबादी पार्टी निर्वाचित रहेकोले गठबन्धनको उम्मेदवार बलियो अवस्थामा रहेको स्थानीय अच्छेलाल साहको भनाइ रहेको छ ।
मधेशी, जनजाति, दलित, मुस्लिम लगायत पिछडिएका, उत्पीडनमा परेका समुदायको पहिचान र अधिकार स्थापित गराउन उपेन्द्र यादवको प्रतिनिधि सभामा सहभागिता महत्वपूर्ण रहेको नेपाली कांगेसका स्थानीय नेता प्रमोद यादवले बताए । महागढि़माई नगरपालिका, सूवर्णपुर गाउपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका र कोलबी नगरपालिकाको वडा नम्बर ८ सहित ४४ वटा वडा सो निर्वाचन क्षेत्रमा रहेका छन ।